बन्दले मकवानपुर सहित देशभरको जनजीवन प्रभावित

  • मङ्गलबार, आषाढ १० २०७६ प्रकाशित

आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले मकवानपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ता सडकमा नदेखिए पनि मकवानपुरमा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा हेटौडामा सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।  

बन्दका कारण मकवानपुरको हेटौंडाबाट चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु चलेका छैनन् । आजको बन्दलाई सफल बनाउनका लागि बन्दकर्ताहरुले आज बिहानै हेटौडाको नेवारपानीमा पुर्बपस्चिम राजमार्गमा गुडीरहेको ट्रकलाई पेट्रोल बम हान्ने प्रयास बिफल भएको छ । ट्रकलाई लक्षित गरेर प्रहार गरिएको पेट्रोल बम गाडीबाट छलिएपछी सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पूर्ब पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ लगायतका सडकमा साना ठुला सवारीका साधन चलेका छैनन् । हेटौंडा बजार क्षेत्रमा मयुरी, अटो, मोटरसाईकल लगायतका सवारीका साधन भने चलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । 

बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण हेटौंडा बजार पुरै बन्द भएका छन् । हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । हेटौंडाका बिहानी कक्षामा चल्ने क्याम्पस समेत बन्द भएका छन् । मकवानपुरका ग्रामिण सडकमा चल्ने सवारीका साधन समेत नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


 प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । 
देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् । 

बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् । 

बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् । 

कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको प्रेसर कुकर बम पनि सेनाको टोलीले निष्कृय पारेको छ । 

काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।