नारीलाई धर्तीमाता भनेको त्यसै होइन रहेछ !

  • शनिबार, बैशाख १४ २०७६ प्रकाशित

ढोका ढकढकढक गरेको आवाज आयो, "को होला? आउनुस् न चुकुल लगाएकै छैन।" बाबुलाई पढाइरहेकी थिएँ, जुरुक्क उठेर ढोकासम्म पुगेँ। "ए! बहिनी म मुना दिदी!" मन्द आवाज बाहिरबाट आयो। ढोका खोलेँ, मुसुक्क हाँस्दै दिदी भित्र आउनुभयो। दिनभरि काम गरेर थाकेको शरीर, दुब्लाएर हड्डी मात्रै देखिने शरीर, अनुहार पनि फुङ्ग उडेको, फागुन-चैतमा पात झरेर बाँकी रहेको रुख जस्तै दिदीको अनुहारमा एकछिनसम्म एकनासले हेरिरहेँ। "बस्नुस् न दिदी, के खाने? चिया, कफी या तातो पानी?" बस्न नपाउँदै मैले सोधेँ। "नाईं बहिनी केही नखाने, लामो समयदेखि तपाईंलाई नदेखेकोले साह्रै न्यास्रो लाग्यो त्यसैले आज घरसम्म ढोका ढकढक्याउन आइपुगेँ।" दिदीले यति भन्दानभन्दै मेरा नयनहरू रसाए, नजिक भनिएकाहरू स्वार्थले मात्रै नजिकिए तर सोच्दै नसोचेको मान्छेले मेरो बारेमा त्यति धेरै चासो र माया गर्ने रहेछन् भन्ने लाग्यो। त्यसो त हिजो मात्रै उहाँकी छोरीलाई स्कुल जाँदा, "नानी ममीलाई सन्चै छ? ममी कहाँ जानुभएको छ" भनेर सोधेकी थिएँ। ममीलाई ठीक छ आन्टी, अफिस जानुभएको छ, भनिन्। 

बाहिर सिससिम पानी परिरहेको थियो, कतै हतास मानेको जस्तो आभाष गराउने दिदीको चञ्चलता नियालेर मौन रहेँ। पुनः हाम्रो कुरा अगाडि बढ्यो। नयाँ वर्षमा घुमघाम गरेर आउनुभयो है? रमाइलो भयो? मोबाइलको स्क्रिन लक खोल्दै दिदीले सोध्नुभयो।"हजुर दिदी घुमेर आयौं, रमाइलो भयो।" यति भन्न नपाउँदै उहाँले " खै फोटो हेरुँ न भन्नुभयो!" मैले  मोबाइल दिएँ, फोटो हेर्दै भन्नुभयो, कति राम्री देखिएको, जे लगाए पनि सुहाउने जिउडाल, गोरो अनुहार, बिहे भएको जस्तो पनि नदेखिने आहा! कति रमाइलो ठाउँमा जानुभएको रहेछ।" "हो नि दिदी त्यहाँ त कस्तो रमाइलो रहेछ, मनमा केही पिरचिन्ता भए पनि सबै भुलिने रहेछ, आनन्दको ठाउँ। जे होस् रमाइलो रहेछ!" दिदीको अनुहारमा थोरै परिवर्तन आएको देखेँ। "म त यसरी काहिँ कतै घुम्न पाउँदिन, नयाँ वर्ष के हो ? जन्म दिन के हो? विवाह उत्सव के हो? चाडपर्व के हो र? यी पर्वहरूमा कति रमाइलो हुन्छ त्यसको अनुभव गर्न त पाएकी छैन मैले र पनि खुशी नै छु!" दिदीको कुरा सुनेर दिक्क लाग्यो। "किन र दिदी ?" मैले प्रश्न गरेँ। "यी कुनै पनि क्रियाकलाप तिम्रो भिनाजुलाई मन पर्दैन। विवाहपछि सबै इच्छा, चाहना र रहरहरूको म आफैले अन्धाधुन्ध हत्या गरेकी छु!" "सही मार्गमा लागेर आफ्ना इच्छा, आकांक्षाहरू पनि पूरा गर्न पाइँदैन र दिदी?" म‌ैले सोधेँ। "विवाह भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लाग्यो, श्रीमानको माया के हो, कस्तो हुन्छ? मलाई आजसम्म थाहा छैन, माघ महिनामा मेरो विवाह भयो, त्यसपछि लगत्तै बच्चा गर्भमा आयो। कारण के हो आजसम्म बुझ्न सकेकी छैन त्यही दिनदेखि उहाँ मबाट टाढिनुभयो, बच्चा जन्मने समय पनि आयो, सहारा कोही कस‌ैको थिएन, अलिकति गाह्रो महसुस भएपछि हस्पिटल गएँ, डाक्टरले तपाईंको आफ्नो मान्छे को आउनुभएको छ बोलाउनुस् भनेको थियो, कोही पनि हुनुहुन्न डाक्टर सा'ब म एक्लै आएको भनेँ। अनि केही पर्यो भने कसले गर्छ त भनेर डाक्टरले सोध्यो, हजुरहरू हुनुहुन्छ, म चाहिएको ठाउँमा पैसा दिन्छु, उपचार हजुरहरूले गरिदिनुस् भनेँ। बच्चा नर्मल नै जन्मियो, त्यसपछि माइतीबाट भाउजू आउनुभयो र डिस्चार्ज भएर घरमा आएँ, न्वारान नभए सम्म भाउजूले स्याहारसुसार गर्नुभयो त्यसपछि सबै काम आफैंले गर्न थालेँ। 
"कसैको फोन आएपनि को, के, किन फोन गरेको भनेर केरकार गर्ने, जोसँग बोल्यो त्यो तेरो को हो? यस्ता कुराहरूले टर्चर दिइराख्नुहुन्थ्यो। कतिपटक त उहाँले पिटेर शरीरभरि निलडाम भएको पनि छ। यी सबै कुराहरूलाई आजसम्म पनि मैले उहाँको माया नै सम्झिरहेकी छु।" 

कहिलेकाहीँ ठाकठुक हुँदा पनि धेरै चिन्ता लिने, खाना नखाने र बिरामी जस्तै हुने म उहाँको अवस्था, सहनशीलता र संघर्षरत जीवन कहानी सुनेर भावविह्वल भएँ, आँसुले आँखाहरू भरिए, एकछिन बोल्न पनि सकिन, गला अवरुद्ध भयो। केही समयपछि हिम्मत गरेर सोधेँ, "दिदी यी कुराहरू माइतीमा भन्नुभएको छ तपाईंले?" "नाईं बहिनी आजसम्म सबैलाई यसको राम्रो छ, ज्वाईं असल हुनुहुन्छ भन्ने विश्वास छ, दुबै जना जागिरे छन्, काठमाडौंमा बसेका छन्, छोराको ठाउँमा छोरा र छोरीको ठाउँमा छोरी छ, खुशी र सुखी परिवार छ भन्ने विश्वास छ।" "पहिलो सन्तान गर्भमा आएदेखि टाढिएको मान्छेसँग पुनः सम्बन्धमा फर्किएर अर्को सन्तान जन्माउने चाहाना कसरी भयो दिदी?" यति धेरै कुरा सेयर गरिसकेपछि मैले पनि नडराइकन सोधेँ। " मैले हाम्रो समाजलाई राम्रोसँग नियालेकी छु, जतिसुकै पढेलेखेका श्रीमान्,  घरपरिवार, छरछिमेक भएपनि छोराको बाहुल्यता आजसम्म पनि रहेको छ, पहिलाको सबै कुराहरू बिर्सिदेऊ, जे नहुनु थियो भइसक्यो अब हामी मिलेर बस्नुपर्छ भनेर उहाँले पनि भन्नुभयो र पहिलो सन्तान छोरी भएकोले दुबै जनाको सहमतिमा दोस्रो सन्तान जन्माउने निर्णय गर्यौँ र भाग्यवश दोस्रो सन्तान छोरा नै जन्मियो। त्यसपछि त श्रीमानको माया पाउँछु भन्ने ढुक्क भयो, प्रसव पीडा र पहिला उनको व्यवहारले दुखेको मनमा मल्हमपट्टी लगाउने दृढता मनमा जाग्यो। अपसोच श्रीमानको व्यवहार र मलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएन फेरि उस्तै भयो। कलिलो सुत्केरी अवस्था, छोरी पनि सानै, दुई नाबालक बालबच्चालाई र मलाई विरानो शहरमा छोडेर जागिरको लागि भन्दै उहाँ गाउँ जानुभयो, कुनै दिन न त कल गरेर के कस्तो छ भनेर सोध्नुभयो न त कुनै साथ, सहयोग। संघर्ष गरेर दुई सन्तानलाई हर्काएँ। छोरी दुई कक्षामा पढ्ने भई छोरा एल.के.जी मा पढ्छ। गएको माघ महिनाको अन्त्यतिर अफिसमा खाजासाजा खाएर ट्वाइलेट गएकी थिएँ, एक्कासी ब्लिडिङ भएछ, आधा घण्टासम्म ट्वाइलेटमै बेहोस भएर लडेकी रहेछु, पछि गार्डले मुना म्याम ट्वाइलेट जानुभएको लामो समय भयो निस्कनुभएको छैन, केही गाह्रो भएको पो हो कि हेर्नुपर्यो भनेकोले सायद मैले पुनर्जन्म पाएकी जस्तो लाग्छ। शरीरमा हेमोग्लोबिनको मात्रा एकदमै कम भएको रहेछ, डाक्टरहरूले पनि क्रिटिकल छ कन्डिसन भनेको रहेछ। त्यसपछि अफिसको साथीहरूले उहाँलाई(श्रीमान)खबर गरिदिएछन् र पनि उहाँको मनमा थोरै पनि दया पलाएन आउनुभएन। दुई महिना रेस्ट गरेर भर्खरै अफिस जान थालेकी छु।" 


नारीलाई धर्तीमाता भनेको त्यसै होइन रहेछ भन्ने लाग्यो। दिदीको कुराले टाउको भारी भयो, नयन ओभानो हुन मानेनन्। "दिदी यति धेरै मानसिक तनाव लिएर कहिलेसम्म उहाँ मेरो श्रीमान हो भनेर बस्नुहुन्छ? बरू कानुनी तवरले अलग्गै बसेर आ-आफ्नो तरिकाले बाँकी जीवन  जिउँदा हुँदैन र?"  "माइतीघरमा पाँच जना दाईहरू हुनुहुन्छ, बुबा ८९ वर्षको आमा ७५ वर्षकी हुनुहुन्छ यस्तो अवस्थामा एक्ली छोरीको घर बिग्रिएको खबर सुने बुबाआमाको अवस्था के होला? डाँडामाथिको घाम-जून झैँ हुनुभएका बुबाआमालाई बेखुसी बनाउन सक्दिनँ म त्यसैले जस्तोसुकै कठिनाई आओस् सबै सहन सक्छु म, केटा मान्छेको मन न हो फर्केला नफर्केला। भोलि मन फर्किएर, सन्तानको माया लागेर आउनुभयो भने पनि म उस्तै रहनेछु, मेरो औकात उही रहनेछ। सबै कुराहरू भुलेर उहाँलाई स्वीकार गर्नेछु।"

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।