जाडो मौसम थियो, खाना खाएर घाममा बसिरहेकी थिएँ। चञ्चल मन चुपचाप बस्न नसक्ने मेरो बानी। भर्खरै खाना खाएको भएपनि "बदाम आयो बदाम, ल है त्रिशूलीको कान्छी बदाम आयो, झुरुम-झुरुम!" कतैबाट आवाज सुनेँ। यताउता हेरेँ। त्यो बदाम बेच्ने मान्छे अलि पर पुगिसकेको रहेछ। होस् भनेँ फेरि बसेँ। साथमा १ वर्षको बाबु पनि थियो। उसलाई तेल लगाएर घाममा सुताइदिएँ, सात रात सात दिन अनिँदो भएपनि दिउँसोमा यी आँखाहरू कहिल्यै निदाउन मान्दैनन्। बाबु निदायो, यत्तिकै बस्न अल्छी लाग्यो। मोबाइल भएको ठाउँमा नजर पुग्यो। मोबाइल लिएँ र फेसबुक अन गरेँ! दुई दिन अगाडि तीजमा खिचेको फोटो अपलोड गरेकी थिएँ। जुन फोटो पब्लिक रुपमा पोष्ट गरेकी थिएँ।
साथी भएकाहरूले पनि हेर्न, लाइक-कमेन्ट गर्न मिल्ने र साथी नभएकाहरूले पनि हेर्न, लाइक-कमेन्ट गर्न मिल्ने। त्यत्तिकैमा यी हातका औंलाहरू नोटिफिकेशनतिर मोडिए, दुई दिन अगाडि पोष्ट गरिएको फोटोमा कुनै एक अपरिचित लाग्ने व्यक्तिको कमेन्ट आएको रहेछ "आहा! सुन्दर प्रकृतिको बगैंचामा रङ्गीबिरङ्गी पुतली!" को रहेछ यो मान्छे भन्ने लाग्यो, प्रोफाइल चेक गरेँ, Friend Request पनि पठाएको रहेछ अनि म्यासेज पनि। "एक वर्ष अगाडिदेखि तपाईंलाई त्रिभुवन विश्वविद्यालयमा देखेको थिएँ, म पनि त्यही कलेजमा पढ्छु। तपाईं curriculum depart मा सरसँग practical subject मा कुरा गरिरहनुभएको थियो, म पनि साथीको सानो कामको सिलसिलामा त्यहाँ पुगेको थियो, पछि घरमा आएर फेसबुक चलाउँदा People You May Know मा हजुरलाई देखेँ, Yes I Know भन्ने लाग्यो र Request पठाएको तर आजसम्म You don't know me! मेरो Request Accept गर्नुस् न म्याम म हजुरको साथी बन्न चाहन्छु।" त्यति भइसकेपछि ठिकै छ भन्ने लाग्यो र Friend Request Accept गरेँ। त्यसपछि खासै कुराकानी भएन, पोष्टहरूमा लाइक-कमेन्ट मात्रै गरिन्थ्यो। बरू पोष्टमा नै re-comment गरेर कुरा हुन्थ्यो।
हाम्रो मित्रताले दुई वर्ष टेक्दै थियोे। एकाएक प्रकृतिमा ठूलो विपत्ति आइपर्यो। शनिबारको दिन खाना खाएर दैनिक कामकाज सकेर हामी बसिरहेका थियौं, टि.भी. अन गर्ने बित्तिकै बत्ती झ्याप्प निभ्यो, टि.भी हल्लिन थाल्यो,के भएको दाइ भन्न मात्र के भ्याएकी थिएँ, झन् बेस्सरी हल्लिन थाल्यो। "भुकम्प आएको हो, भाग्नु हुँदैन, यहीँ टेबुलमुनि सुरक्षित भएर बसौं," दाइले भन्नुभयो। "हुन्छ" भनेर सबै जना सानो टेबुलमुनि बस्यौं। भुकम्प आउन बन्द भएपछि बाहिर निस्कदा कुनै घरको पर्खाल भत्किएर बाइक, गाडी पुरिएको, मान्छेको कोलाहल देख्दा मन आत्तियो। साथमा भएको बाबुलाई भूईँमा छोडेर म पनि अतालिन थालेछु।
कसैलाई फोन नलाग्ने, कोहीसँग सम्पर्क नहुने। झन् घरपरिवार, आफन्त, साथीहरूको अवस्था कस्तो होला भन्ने लाग्यो। चाहेर पनि सबै खबरहरू अज्ञात रह्यो। त्यो दिन र रात जसोतसो खुल्ला आकाशमुनि बिताइयो, भोलिपल्ट बिहानै धादिङ गएँ, त्यसपछि काठमाडौं फर्किन पनि असाध्यै डर लाग्यो। ६/७ दिनपछि बल्ल मोबाइलले राम्रोसँग काम गर्न थाल्यो, फेसबुक खोल्यो वैशाख १२ का मन स्तब्ध बनाउने तस्बिर, भिडियो र समाचारहरू मात्रै, टि.भी खोल्यो समाचारमा मन स्तब्ध बनाउने खबरहरू मात्रै सुन्न पाउने, समाचार सुन्दासुन्दै नयाँ बजारमा भएको घटनाको बारेमा पनि विस्तृत जानकारी आयो, झसङ्ग भएँ। मसँग केही समय अगाडि फेसबुकमा जोडिनुभएको साथी पनि नयाँ बजारमा नै बस्नुहुन्थ्यो। त्यसपछि मनमा अनेकौं शंकाहरूको तुफान चल्न थाल्यो।
एकपटक उहाँको वाल हेर्छु भन्ने लाग्यो र नाम सर्च गरेर हेरेँ, वालमा नजर पुग्ने बित्तिकै मेरो शंका वास्तविकतामा परिणत भइदियो, जे नसोचेको आखिर त्यही भएको रहेछ। ल्यापटप चलाएर आफ्नो कोठामा बसिरहेको मान्छे, घर पूर्ण रुपमा भत्किएर त्यहीँ च्यापिएको मन स्तब्ध पार्ने तस्बिरहरू सहित "हार्दिक श्रद्धाञ्जली" लेखिएका पोष्टहरू देखेँ, नरमाइलो लाग्यो। घर गोरखा, बारपाक, भुकम्पको केन्द्रबिन्दु र भुकम्पले सबैभन्दा बढी क्षति पुर्याएको ठाउँ। सायद परिवारका अन्य सदस्यहरू पनि त्यो प्रकोपमा पर्नुभएको थियो होला। केही सम्बन्धहरू नभेटिए तापनि आत्मीय रहन्छन्, रगतको नाताले मात्रै सम्बन्धहरू मजबुत रहदैन, कुनै-कुनै सम्बन्धहरू भावनाको नाताले पनि जुनी-जुनीसम्म अजर-अमर रहन्छन्।
भौतिक शरीर नरहे तापनि आजसम्म तपाईं जीवितै हुनुहुन्छ जस्तै लाग्छ, तपाईंको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली साथी! तपाईंका इच्छाहरू अधुरोमा नै चुँडेर लैजाने त्यो निर्दयी समय र त्यो प्राकृतिक प्रकोपको कालो दिनलाई म पुनः सम्झन चाहन्न।
उक्त प्रकोपमा परी सहादत प्राप्त गर्ने सम्पूर्णप्रति हार्दिक श्रद्धासुमन।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।