अपडेटः बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो,५०० भन्दा बढी घाइते-घाइतेको निःशुल्क उपचार हुने

  • सोमबार, चैत्र १८ २०७५ प्रकाशित

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण  प्रदेश नम्बर २ को बारा र  पर्सामा भिषण हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

राहत दिने प्रदेश सरकारको घोषणा, घाइतेको निःशुल्क उपचार हुने

बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउने पीडित परिवारलाई प्रदेश नं. २ को सरकारले तीन लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ।  मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिएका छन्। 
सोमवार बिहान प्रदेश सरकारको बैठक बसेको थियो। राहत र पुनर्वासका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएका राउतले बताए। 

दुवै जिल्लामा गरी छ सय जनाभन्दा बढी घाइते भएको गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। 
घाइतेहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय लगायतका अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित बीबीसी संवाददाता माधुरी महतोले बताएकी छन्। 
प्रदेश नं. २ को सरकारले विपत्‌को घडीमा सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, विभिन्न दातृनिकाय, नागरिक समाज र व्यावसायीहरूलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।